रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो

रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुकुमपूर्वले आज शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई र प्रजिअ मार्फत नै गृह र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण पत्र पेश गरेको हो । अखिल क्रान्तिकारीका नेता तिलकराज रसाइली र अखिल क्रान्तिकारी रुकुमपूर्वका संयोजक अम्मर खत्री लगायतको विद्यार्थीले जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वमा ध्यानाकर्षण पत्र बुझाउँदै ग्यासको सहज तथा नियमित आपूर्ति, निष्पक्ष वितरण र कालोबजारी तथा मनोमानी विरुद्ध प्रभावकारी अनुगमन गर्न माग गरेका हुन् । ग्यासको अभावका कारण कोठा भाडामा लिएर अध्ययन गरिरहेका विद्यार्थी, गरिब तथा विपन्न परिवार र सर्वसाधारण प्रत्यक्ष मारमा परेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
विद्यार्थी पढ्न विद्यालय जाने कि खाना पकाउने ग्यासका लागि लाइनमा बस्ने भन्ने अवस्था सिर्जना भएको भन्दै संगठनले तत्काल समस्या समाधान गर्न प्रशासनसँग माग गरेको छ । अत्यावश्यक इन्धनको आपूर्तिमा हुने लापरबाही वा कृत्रिम अभावलाई सामान्य रूपमा लिन नहुने भन्दै अखिल (क्रान्तिकारी)ले जिल्लामा ग्यासको नियमित आपूर्ति र वितरण प्रणालीलाई प्रभावकारी बनाउन प्रशासनको ध्यानाकर्षण गराएको हो । यस्तै, सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको विषयमा समेत संगठनले प्रश्न उठाएको छ । शनिबार र आइतबार दुई दिन बिदाको नाममा सरकारी निकायबाट सेवा प्रवाह बन्द हुँदा निजीको व्यापारलाई प्रोत्साहन गर्नमा सरकार लागेको संगठनको दाबी छ । उक्त दुई दिन बिदा सरकारले खारेज गर्नु पर्ने संगठनको माग रहेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी कम्पनीलाई प्रोत्साहन गर्ने सरकारको नीति अन्त्य गर्नुपर्ने तथा जनताको स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । माग सम्बोधन नभए विद्यार्थी तथा आम नागरिकको पक्षमा सडक संघर्षमा उत्रिन बाध्य हुने अखिल (क्रान्तिकारी) ले चेतावनी दिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कोपिला राईले जिल्लामा ग्यासको समस्या रहेको स्वीकार गर्दै नियमित आपूर्तिमै अनियमितता देखिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी राईका अनुसार जिल्लामा ग्यासको नियमित सप्लायर्सबाटै आपूर्ति अनियमित भइरहेको छ । उहाँले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै उपभोक्तालाई घरमा आवश्यकता भन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गरिराखेको बताउनुभयो । उपभोक्ताले पनि घरमा ग्यास स्टक राख्ने गरेको कुरा आइरहेकोले स्टक नराख्न आग्रह गरिराखेको प्रजिअले जानकारी गराउनुभयो । “व्यवहारिक रूपमा ग्यास स्टक नगर्नुस्, बढी ग्यास नलग्नुस् भनेर अनुरोध गरिरहेका छौँ,” उहाँले भन्नुभयो । घरघरमै गएर कारबाही गर्न मिल्दैन, बरु ग्यास डिलरले सकेको आधारमा मात्र उपभोक्तालाई वितरण गर्न सुझाव दिइराखिएको राईले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी राईका अनुसार ग्यास वितरणमा लागू गरिएको कुपन प्रणालीले केही सुधार ल्याएको बताउनुभयो । “पछिल्लो स्मय ग्यास वितरणमा कुपन सिस्टमले केही सुधार भएको छ ।
ग्यास दिनेमा डिलरहरूले विद्यार्थीका लागि प्राथमिकता नै राखेका छन्,” उहाँले भन्नुभयो । हालको समस्या बुझेर उपभोक्ताले घरमा ग्यास सञ्चित नगर्न आग्रह गर्दै उहाँले सबै पक्ष जिम्मेवार भएर समस्या न्यूनीकरण गर्न सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । अखिल (क्रान्तिकारी)ले उठाएका विद्यार्थीका मागलाई सम्बन्धित मन्त्रालयसम्म पठाउने प्रतिबद्धता पनि प्रमुख जिल्ला अधिकारी राईले जनाउनुभयो । रुकुमपूर्वमा हाल भेरी, मनकामना र राप्ती ग्यासका डिलर रहेका छन् ।।

रुकुम पूर्वमा अवैध तीन थान भरुवा बन्दुक बरामद
रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० स्थित नसिलेक जङ्गलबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

रुकुमपूर्वको तकसेरामा प्रथम झाँक्री सम्मेलन सम्पन्न
रुकुमपूर्व, साउन ३ गते। नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वको आयोजनामा र पुथाउत्तरगङ्गा गाउँपालिका, नेपाल मगर सङ्घ रुकुमपूर्व तथा आदिवासी जनजाति

नयाँ शक्तिको उदयमाथि गम्भीर प्रश्न ???
नेपाली राजनीतिक वृत्तमा पछिल्लो समय उदाएको नयाँ शक्तिको लोकतान्त्रिक अभ्यास, संवैधानिक निष्ठा र राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।









प्रतिकृया दिनुहोस